नेपालगन्ज – ठाकुरबाबा नगरपालिका वडा नं. ३ मिर्चैयामा यस बर्ष पनि भव्य रुपमा गुरही पर्व मनाउने भएको छ । थारु समुदायमा हरेक बर्ष झै यस बर्षपनि यही साउन २५ गते गुरही पर्व मनाउने भएको हो ।
हमार कला संस्कृति परम्परा हमार पहिचान, एकर संरक्षण व संवद्र्धन कैना हमार अभियान भन्ने मुल नाराका साथ भव्य रुपमा गरही पर्व मनाउन लागिएको थारु अगुवाहरु बताउछन् । स्थानिय थारु समाज मिर्चैयाको आयोजनामा हुन लागेको गुरही पर्व धुमधामका साथ मनाउने तयारी भएको थारु युवा नेता श्यामलाल थारु (प्रतिक)ले जानकारी गराउनुभयो । थारु समुदायका विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउने गरिन्छ । गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको युवा नेता थारुको भनाई छ । बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ उहाँले भन्नुभयो । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।
हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरहीलाई गतसाल पनि मिर्चैया गाउँमा भव्यका साथ गुरही पर्व मनाईएको थियो । नाचगान सहित मनाउने चलन पछिल्लो समय व्यापक हुदै गएको छ ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.