जनक चौधरी– बर्दिया : एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालको सहयोगमा र राजापुर नगरपालिकाको आयोजनामा स्थानीय अधिकार परियोजना अन्तर्गत स्थानीय शिक्षा ऐनमा भएको प्रावधान शिक्षामा लगानी तथा गुणस्तरीय शिक्षाको लागि बहस कार्यक्रम राजापुर नगरपालिकामा सोमवार सम्पन्न भएको छ ।
राजापुर नगरपालिकाको नगर प्रमुख दिपेश थारुको सभापतित्वमा भएको कार्यक्रममा राजापुर नगरपालिकाका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो । यस्तै शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, शिक्षाविद झगुप्रसाद थारु, सामुदायिक विद्यालयका प्राधानाध्यापकहरू, संस्थागत विद्यालयका प्रअहरु त्यसैगरी कमैया महिला जागरण समाजका अध्यक्ष विष्णु थारु, पत्रकार, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण शिक्षा अनुसन्धानविद शेखर दहितले गर्नुभएको थियो । सहजीकरणको क्रममा सहजकर्ता शेखर दहितले नेपालमा शिक्षाको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । आधारभूत तहमा कक्षा दोहो¥याउने १०.६ प्रतिशत कक्षा उन्नति दर ८४.२ प्रतिशत कक्षा छोड्ने दर ४.८ प्रतिशत रहेको बताउनुभयो । यसैगरी माध्यमिक तहमा विद्यार्थी भर्ना दर ९७.३%, कक्षा छोड्ने १०० जनामा ३६ जना यसैगरी टिकाउ दर ६४.६% रहेको जानकारी गराउनुभयो ।
यस्तै राजापुर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा यसपालिको एसईई परीक्षामा उत्तीर्ण दर जम्मा १९ दशमलव १६ प्रतिशत रहेको त्यस्तै नन ग्रेट ८०. ८३% रहेकोमा नगरपालिकाको तर्फबाट भएको कमी कमजोरी नगरपालिकाले लिनुपर्ने नगरप्रमुख दिपेश थारुले बताउनुभयो यसैगरी राजापुर नगरपालिकाभित्र रहेको सामुदायिक विद्यालयहरूको नतिजा दयनीय हुनुमा सबैले आआफ्नो ठाउँबाट आफ्नो आफ्नो कमजोरीको बारेमा जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो ।
राजापुर नगरपालिकाले शिक्षा ऐन नियम कार्यविधि सबै बनाइसकेकोले अब आउँदा दिनहरूमा पूर्ण कार्यान्वयनका लागि शिक्षक अभिभावक कर्मचारी लगायत सिंगो पालिका गुणस्तरीय शिक्षाका लागि सबैले हातेमालो गरेको खण्डमा राजापुर नगरपालिकालाई शिक्षा क्षेत्रमा नमुना पालिका बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । यस्तै बोल्ने क्रममा निजी विद्यालयमा शत प्रतिशत नतिजा आउनु र सामुदायिक विद्यालयमा खस्किदो नतिजा आउनुमा कसको जिम्मेवारी भनेर प्रश्न समेत गर्नुभयो । लोकसेवा पास गरेर काम गर्दै गरेको र निजी विद्यालयमा सम्पर्कमा ल्याई जागिर गराउने विद्यालयले शतप्रतिशत नतिजा ल्याउँदा यो कस्तो अचम्म भनेर सोध्नुभयो ।
यस्तै राजापुर नगरपालिकाका उपमेयर तथा नगरस्तरीय बाल अधिकार समिति संयोजक मनकला थारुले राजापुर नगरपालिकाको शैक्षिक गुणस्तरका लागि आफूहरू लागि परेता पनि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरू पनि गुणस्तरीय शिक्षाका लागि सकारात्मक तरिकाले लागेको खण्डमा राजापुर नगरपालिकालाई शिक्षाको उर्वर पालिकाको रूपमा चिनाउन सकिने बताउनुभयो । यस्तै गुणस्तरीय शिक्षाका लागि राजापुर नगरपालिकाले सम्पूर्ण विद्यालयको बेसलाइन सर्भे गर्नका लागि ७ सदस्य अनुगमन समिति समेत गठन गरिसकेको र उक्त समितिले प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाउने र सोही प्रतिवेदन अनुसार नगरपालिकाले बजेट विनियोजन गरी गुणस्तरीय शिक्षाका लागि के के गर्नुपर्ने हो सोही बमोजिम कार्ययोजना बनाई अगाडि बढ्ने समेत बताउनुभयो ।
यस्तै जग बलियो भयो भने घर बलियो हुन्छ भनेझैँ बालबालिकाको वृद्धि विकासका लागि गर्भवती आमाहरूलाई गर्भवती जाँच गरेको गरेको अन्तिम पटक बाट प्रत्येक गर्भवती आमाहरूलाई ६० दिनका लागि हरेक दिन एक लिटरका दरले दुध वितरण गर्ने कार्यक्रम रहेको पनि जानकारी गराउनुभयो । बालबालिकालाई गर्भ अवस्थादेखि ख्याल गर्यौ भने मात्र भोलि गएर असल नागरिक जिम्मेवार नागरिक बन्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिज्ञासाको रूपमा विद्यालय सुधारका निमित्त आधारभूत ज्ञान आवश्यक भएको विद्यालयमा मोबाइल फोनको प्रयोगमा रोक लगाउनुपर्ने, नियमित अनुगमन गर्नुपर्ने, आवश्यकतामा आधारित कार्यक्रम ल्याउनुपर्ने मानपुर टप्रा माविका प्राधानाध्यापक मोहन दहितले सुझावको रुपमा राख्नुभयो ।
यस्तै राजापुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा पारेको भौतिक पूर्वाधार सुशासनका क्षेत्र शिक्षाको क्षेत्र र रोजगारको क्षेत्र गरी चारवटा प्राथमिकता क्षेत्रहरूलाई मध्यनजर गर्दै आउँदो आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि ९ करोड १५ लाख बजेट विनियोजन समेत गरेको नगर प्रमुख दिपेश थारुले जानकारी गराउनुभयो ।
कार्यक्रममा विभिन्न सहभागी हरूले जिज्ञासा समेत राख्नुभएको थियो । यसैगरी कमैया महिला जागरण समाजका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले गुणस्तरीय शिक्षाका लागि स्थानीय अधिकार कार्यक्रम अन्तर्गत बढैया ताल गाउँपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बाँसगढी नगरपालिका लगायतका स्थानीय सरकारसँगको सहकार्यमा गुणस्तरीय शिक्षाका लागि बहस कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकोले यो कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।
उक्त कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै कमैया महिला जागरण समाजका अध्यक्ष विष्णु थारुले कमैया महिला जागरण समाज नेपालले बर्दिया जिल्लाका सम्पूर्ण पालिका सँग सहकार्य गर्दै शिक्षालगायत अन्य क्षेत्रमा आफ्नो संस्थाले काम गरिरहेको बताउनुभयो ।