बाँके, ९ चैत ।
नेपालगन्ज नाकाबाट प्लाइउड निकासी बन्द भएको छ । रुपइडिहास्थित भारतीय भन्सार कार्यालयले प्लाइउड निकासीमा अवरोध गरेपछि बन्द भएको हो ।
भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिन्हको नाममा नेपाली प्लाइउड निकासी गर्न रोक लगाएपछि निकासी हुँदै आएको प्लाइउड भारत पठाउन नसकिएको प्लाइउड उत्पादक संघ नेपालका सदस्य पशुपतिदयाल मिश्रले बताए ।
उनले विगत दुई हप्तादेखि भारत पठाउन नसकिएको बताए । ‘नेपालबाट ठूलो परिमाणमा प्लाइउड भारत गइरहेको थियो । भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिन्हको नाममा प्लाइउड जान अवरोध सिर्जना गरेको छ,’ उनले भने, ‘केही समययता नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले अवरोध गर्दा रोकिएको छ ।’
भारतीय भन्सार कार्यालयले अवरोध कायमै राखेको खण्डमा नेपालका ६० प्रतिशतभन्दा बढी प्लाइउड उद्योग बन्द हुने मिश्रको भनाई छ । उनले भने, ‘भारततर्फ राम्रो निकासी भइरहेको थियो । भारतीय भन्सारले अवरोध सिर्जना गरिराख्यो भने खर्च धान्न नसकेर यहाँका धेरै प्लाइउड उद्योग बन्द हुनेछन् ।’
गुणस्तर प्रमाण चिन्हको नाममा भारतले प्लाइउड निकासीमा अवरोध कायमै राखे अधिकांश उद्योग बन्द हुने बताउँछन् । पछिल्लो समय भारतमा अत्यधिक मात्रामा नेपाली प्लाइउड निर्यात भएपछि उत्साहित भएका उनी पछिल्लो समय निराश भएका छन् । ‘भारतमा धमाधम निकासी भएपछि यहाँका उद्योगीमा एक खालको उत्साह बढेको थियो,’ उनले भने, ‘धमाधम निर्यात भइरहेको नेपाली प्लाइउडमा बाधा उत्पन्न हुने गरी गुणस्तर प्रमाण चिन्हको नाममा झमेला झिकेर निर्यात रोकेपछि तनाव सिर्जना भएको छ ।’
ओम प्लाई एण्ड फर्निचर प्रालिका सञ्चालकसमेत रहेका उद्योगी मिश्रले नेपाल–भारत सीमानाकास्थित रुपइडिहामा रहेको भारतीय भन्सार कार्यालयले गरेको अवरोध र समस्याको बारेमा भारतीय कस्टम कमिस्नरलाई जानकारी गराए पनि समस्या समाधान नभएको बताए । ‘नेपाली उद्योगीको टोलीले भारतीय कस्टम कमिस्नरलाई भेटेर समस्या अवगत गरायौँ, तर अहिलेसम्म कुनै सुनुवाई भएन,’ मिश्रले भने ।
नेपाल सरकारले भारतीय सरकारसँग समन्वय गरि समस्या तत्काल समाधान गर्नुपर्ने उनी बताउँछन् । नेपालको पूर्वी नाका पानीट्यांकीबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिमको नेपालगन्ज नाकाबाट मात्र रोकिएको उनको भनाई छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार, पछिल्लो सात महिनामा मात्रै करिब ६४ करोड १० लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड नेपालगन्ज नाकाबाट भारत निकासी भएको छ । नेपालमा उत्पादित उत्तिसका रुखबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उनले बताए । ‘पूर्वी र पश्चिमी दुवैतर्फका नाकाबाट गत आवमा मात्रै ६० लाख क्युविक मिटर बढी प्लाइउड निर्यात भएको तथ्यांक छ,’ उनले भने, ‘धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड पछिल्लो सात महिनामा मात्रै २७ लाख क्युबिक मिटर निर्यात भएकोे छ ।’
भारत सरकारले १४ भदौ, २०८० मा राजपत्रमा सूचना प्रकाशित गरि २८ फेबु्रअरी, २०२४ पछि प्लाइउडमा आइएसआई प्रमाण अनिवार्य हुने जनाएको थियो ।
कुन महिनामा कति निर्यात ?
नेपालगन्ज नाकाबाट सवैभन्दा बढि माघ महिनामा प्लाइउड निकासी भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । उक्त महिनामा १६ करोड ६५ लाख १७ हजार रुपैयाँको प्लाइउड निकारी भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले बताए ।
लम्सालका अनुसार, पुसमा १३ करोड ९४ लाख ५० हजार, मंसिरमा ११ करोड २३ लाख ३४ हजार, कात्तिकमा आठ करोड ६८ लाख २७ हजार, असोजमा सात करोड ६४ लाख १९ हजार, भाद्रमा चार करोड ४८ लाख ६९ हजार र साउनमा एक करोड ४६ लाख २१ ह्जार रुपैयाँ बराबरको प्लाइउड भारत निकासी भएको छ ।