नेपालगञ्ज । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले नवौं धारा नेपालगन्ज म्याराथनमा क्रमश: पुरुष म्याराथन र महिला हाफ म्याराथनतर्फ उपाधि जितेका छन् । नेपाल एपीएफ क्लबका गोपीले दोस्रो पटक म्याराथन जित्दा विभागमा आवद्ध नभएकी सन्तोषी तेस्रो पटक च्याम्पियन बनेकी हुन् ।
शनिबार भएको म्याराथनमा गोपीले आर्मीका खडक बहादुर खड्कालाई पछी पार्दै उपाधि जितेका हुन् । गोपीले निर्धारित दुरि २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा पूरा गरे । खडकले निर्धारित दुरि २ घन्टा २२ मिनेट ९ सेकेन्डमा पूरा गरेका थिए ।
गत वर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै खड्कबहादुर खड्काले आठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका थिए। किरणसिंह बोगटीले २ घण्टा २५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हात पारे ।
सन्तोष बिक्रम बिष्टले निर्धारित दुरि २ घन्टा ३० मिनेट १८ सेकेन्डमा पूरा गरे । सन्तोष चौथो बने । मोहन देव जिसिले २ घन्टा ३९ मिनेट १०:५२ सेकेन्डमा पूरा गर्दै पाँचौ स्थानमा रहे ।
प्रेम बस्नेतले २ घन्टा ३९ मिनेट १०: ८८ सेकेन्डमा पूरा गर्दै छैटौं स्थानमा रहे । शेर बहादुर बुढाले २ घन्टा ४५ मिनेट २४ सेकेन्डमा पूरा गर्दै सातौं बने ।
अजय विकले २ घन्टा ५४ मिनेट १७ सेकेन्डमा पूरा गर्दै आठौं स्थानमा रहे । रुद्र बुढाथोकीले ३ घन्टा ६ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै नवौं बने ।
म्याराथन विजेता गोपिले २ लाख रुपैयाँ पाउने छन् । दोस्रो हुनेले खडकले १ लाख र तेस्रो भएका किरणले ५० हजार हजार पाउनेछन् ।
चौथोले २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार, सातौ र आठौलाई समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । तेस्रो पटक च्याम्पियन बन्ने क्रममा सन्तोषीले निर्धारित दुरि १ घन्टा २० मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । फुलमती रानाले १ घन्टा २१ मिनेट ९ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हात पारिन् । पुषा भन्डारीले १ घन्टा २३ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हात पारिन् ।
बृन्दा ढाकेँ श्रेष्ठले चौथो स्थान हात पारिन् । उनले निर्धारित दुरि १ घन्टा २४ मिनेट २० सेकेन्डमा पूरा गरिन् ।
हाफ म्याराथन(महिला)मा प्रथम हुने सन्तोषीले ७५ हजार, दोस्रो हुनेले फुलमती ५० हजार, तेस्रोले पुष्पाले २५ हजार र चौथो भएकी बृन्दाले १५ हजार र पाँचौं राज्यलक्ष्मीले १० हजार प्राप्त गर्ने छिन् ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ ।
सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना भएको थियो ।
एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।