प्युठान । गौमुखी गाउँपालिका प्युठानका एक युवाले आफ्नै गाउँमा खुर्सानी खेती गर्न सुरु गरेका छन् । देशका युवा सबै बिदेशमा पलायन भइरहेको समयमा उनि भने आफ्नै खेतबारीमा नङ्ग्रा खोर्सदै खुर्सानीमा भबिष्य खोज्न लागेका हुन ।
प्युठान गौमुखी गाउँपालिका वडा नम्बर ३, रजवाराका युवा रमेश राना अहिले खुर्सानीका बेर्नासहित खेतबारीमा भेटिन्छन । उनले यो बर्ष १० हजार अकबरे खुर्सानीका बेर्ना (बिरुवा) आफ्नो जग्गामा लगाएका छन् । खुर्सानी उत्पादनका लागि रानाले करीब २० रोपनी जग्गा भाडामा लिएर खुर्सानी खेती सुरु गरेको बताउछन् ।
‘मैले अहिले करीब २० रोपनी जग्गा भाडामा लिएर अकबरे खुर्सानीको खेती सुरु गरेको छु, सुरुमा अहिले १० हजार अकबरेका बिरुवा रोपेँ, यो बाट करीब २० टन (२० हजार किलो) खुर्सानी उत्पादन गर्ने लक्ष्य लिएको छु ।’ युवा व्यवसायी रानाले भने ।
राना आफूले ‘बिधाता कृषि फार्म’ दर्ता गरेर कृषि पेशामा हात हालेका छन् । उनले अहिलेसम्म कहिँ कतैबाट आर्थिक सहयोग लिएका छैनन् । ‘मैले नियमानुसार आफ्नै फार्म खोलेर यो व्यवसाय सुरु गरेको छु, कुनै संघ संस्थाबाट आर्थिक सहयोग लिएको छैन, सम्पुर्ण खर्च आफै जुटाएको छु, आफै लगानी लगाएर अकबरेबाट जीवनको भबिष्य खोज्दैछु ।’ – रानाले भने । रानाले खुर्सानीका बिरुवा आफ्नै नर्सरीबाट उत्पादन गरेका हुन ।
गौमुखी गाउँपालिकाका कृषि प्राबिधिकहरुबाट प्राबिधिक सीप र ज्ञान सिकेको बताउछन् उनि । भन्छन्, ‘गाउँपालिकाका कृषि प्राबिधिकहरु र युट्युब हेरेर प्राबिधिक आवश्यक सीप र ज्ञान लिएको छु ।’ उत्पादन हुने खुर्सानी जिल्लामा खपत गर्ने र बढी उत्पादन जिल्ला बाहिर समेत निर्यात गर्ने उनको योजना रहेको छ ।
‘अकबरे खुर्सानीबाट यो पेशा सुरु गर्दैछु, हेरौं भविष्यमा के हुन्छ ! खुर्सानीले भविष्यका सपनाहरु पूरा गर्छ कि गर्दैन ! तर एकदमै आशावादी छु यो पेशामा ।’ – उनि भन्छन् ।
रानाको आगामी ५ बर्षभित्रमा कम्तीमा १ सय रोपनी जग्गामा कृषि व्यवसाय गर्ने लक्ष्य रहेको छ । उनले अकबरे खुर्सानीसहित ओखर, टिमुर, किवी, कागती लगायतको खेती विस्तार गर्ने योजना लिएका छन् ।
आफ्नो ठाउँमा केही पेशा व्यवसाय छैन भनेर लाखौं लगानी लगाएर दैनिक हजारौं युवा रोजगारीका लागि देश बाहिर पलायन भइरहेका बेला राना भने आफ्नै गाउँघरको माटो खोर्सेर भविष्य खोज्दैछन् । समाजमा उनि उदाहरणीय बनेका छन् ।