तुलसीपुर । तुलसीपुर–घोराही सडकखण्डमा परेका खाल्टाखुल्टी पुर्नका लागि शुरु गरिएको अभियानको खर्च विवरण सार्वजनिक गरिएको छ ।
सडकमा परेका खाल्टाखुल्टी पुर्नका लागि शुरु भएको अभियानले मंगलबार तुलसीपुरमा खर्च विवरण सार्वजनिक गरेको हो । अभियानका संयोजक तथा तुलसीपुर उपमहानगरपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर पवन योगीले माघ ५ गतेदेखि शुरु भएको अभियान माघ ९ गतेसम्म चलेको जानकारी दिनुभयो । तुलसीपुरको हात्तीखौवादेखि मजगैंसम्म अभियानले सडकमा परेका खाल्टाखुल्टी पुरेको तथा मर्मत गरेको इञ्जिनियर योगीले जानकारी दिनुभयो ।
अभियानका लागि तुलसीपुर उपमहानगरपालिकासहित सामाजिक अभियन्ताहरुले पाँच दिनसम्म ७८ वटा सवारी साधन प्रयोग गरेको जानकारी दिनुभयो । यसका लागि विभिन्न ब्यक्तिहरुले दुई हजार पाँच सय ५७ लिटर डिजेल सहयोग भएको र दुई हजार चार सय सात लिटर खर्च भएको तथा एक सय ५० लिटर बचत भएको छ । बचत भएको डिजेल पनि अन्य सामाजिक काममा प्रयोग गरिने अभियन्ता विमल रिजालले जानकारी दिनुभयो । खाल्टाखुल्टी पुर्नका लागि दुई हजार एक सय घनमिटर ग्राभेल र माटो प्रयोग भएको अभियानका संयोजक योगीले जानकारी दिनुभयो ।