तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले मावि सेन्टर माध्यमिक तहको शिक्षा आर्जन गर्ने विद्यार्थीलाई आकर्षणको केन्द्र बनेको बताउनुभएको छ । विद्यालयको ५२ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै नगर प्रमुख खड्काले यस्तो बताउनुभएको हो ।
शिक्षाका विभिन्न क्षेत्रमा पढाइ हुन थालेपछि सेन्टर मावि सबैको आकर्षणमा परेको उहाँको भनाइ थियो । विद्यालयका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा तुलसीपुरका पूर्व नगरप्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रियस्तरमा विद्यालयको चर्चा हुने गरेको बताउनुभयो । कार्यक्रममा तुलसीपुर–६ का अध्यक्ष दुजमान भण्डारी, वडा नं. ११ का अध्यक्ष मानबहादुर रावत, वडा नं. १८ का अध्यक्ष माधव वली, शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले स्थानीय सरकारले सामुदायिक विद्यालयका लागि लगानी गरिरहेको भन्दै प्रतिफलमा जोड दिनुभएको थियो ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, पत्रकार सुशील बस्नेत, विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष रोमहर्ष भण्डारी, संस्थापकको तर्फबाट गोपीनाथ योगी, अक्षयकोषदाता टीकाराम कँडेल, विद्यालय ब्यवस्थापन समितिका पूर्वसदस्य बच्चुराम परियार, पूर्वविद्यार्थी वीरेन्द्रकुमार विक, विद्यार्थीहरु राजु बिक, सीमा बिकले बोल्नुभएको थियो । त्यस अवसरमा विद्यालय स्थापना गर्ने संस्थापकहरु, विद्यालयका पूर्वप्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सदस्यहरु, विद्यालयमा अक्षयकोष स्थापना गर्ने दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै अक्षयकोषबाट प्राप्त रकमले विद्यालयमा अध्ययन गर्ने जेहेनदार तथा अनुशासित विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
सो अवसरमा नागरिक समाज दाङका पूर्वसंयोजक टीकाराम रेग्मीले स्व. बुवा कविराम रेग्मी र आमा स्व. गोकुलकुमारी आचार्य रेग्मीको सम्झनामा एक लाख पाँच हजार पाँच सय पाँच रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । अक्षयकोषबाट हरेक वर्ष गरिब तथा जेहेनदार विद्यार्थीलाई पुरस्कृत गरिनेछ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लिखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।